Categories समाचार

रक्सीको मातमा स्वास्थ्य अधिकृत ठाकुरले गरे पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा जाहेरी

Advertisement

वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरेर पत्रकारहरूमाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

वीरगञ्जस्थित क्लासिक ब्यांक्वेटमा स्वास्थ्य कार्यालय पर्साको आयोजना चलिरहेको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा ठाकुरले मादक पदार्थ सेवन गरेर पत्रकारहरूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका हुन् ।

Advertisement

आइतबार दिउँसो साढे ३ बजेको करिबमा चलचित्र पत्रकार सङ्घले आयोजना गरेको एक चलचित्रको पोस्टर विमोचन कार्यक्रममा सहभागी पत्रकारहरूलाई ठाकुरले बाहिर बोलाएर अपमानजनक व्यवहार गरेको यात्रा डेलीका सम्वाददाता अर्जुन चौधरीले बताए ।

Advertisement

पत्रकारहरूले ठाकुरको अस्वाभाविक व्यवहार देखेर मादक पदार्थ सेवन गरेको भनेर प्रश्न उठाउँदा उनी आक्रोशित भई गालीगलौजमा उत्रिएको चौधरीले बताए । “पत्रकारहरूले उनलाई केरकार गर्न थालेपछि उनी कार्यक्रम स्थलबाट फरार भए,” चौधरीले भने ।

कार्यक्रममा सहभागी हुन् पुगेका अर्का पत्रकार राजु बैठाका अनुसार चलचित्र पत्रकार संघको कार्यालयमा सहभागी हुन् क्लासिक ब्यांक्वेट पुगेको बेला भुलवश स्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रवेश गरेपछि आक्रोशित भएका ठाकुरले यस्तो हरकत गरेका हुन् । “एकै ठाउँमा दुई कार्यक्रम चलिरहेको कारण गल्तीले म स्वास्थ्यकर्मीहरूको कार्यक्रममा प्रवेश गर्न पुगे । तर, त्यहाँ सञ्चारकर्मीहरूलाई नदेखेपछि म बाहिर निस्किए । त्यसकै झोकमा जयमोद ठाकुरले आएर ‘राजु बैठा को हो ? किन प्रवेश गरेको ? भन्दै गालीगलौज गर्न थाले,’ बैठाले सुनाए । 

घटनास्थलबाट ठाकुर भागेपछि अभिमुखीकरणमा सहभागी केही स्वास्थ्यकर्मीहरूले समेत पत्रकारमाथि आक्रमण गरेका थिए । ठाकुरले आफूलाई सूचनाको हकको अभियन्ता र पत्रकारको रूपमा प्रस्तुत गर्दै शक्तिको दुरुपयोग गर्ने गरेको स्थानीयहरूले बताएका छन् ।

घटनापछि आक्रोशित पत्रकारहरूले ठाकुरलाई नियन्त्रणमा लिएर मादक पदार्थ सेवन जाँच (मापसे) गर्न र कानुनी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरूको एक टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर ठाकुरविरुद्ध जाहेरी दर्ता गरेको छ ।

पत्रकारहरू राजु बैठा, अर्जुन चौधरी, आरोहण साहसहित आधा दर्जनभन्दा बढी पत्रकारहरूले कार्यालय समयमा मादक पदार्थ सेवन गरी सञ्चारकर्मीमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा ठाकुरविरुद्ध जाहेरी दिएका हुन् ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत अधिकृतले कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभिमुखीकरण कार्यक्रममा सहभागी हुनु र पत्रकारमाथि दुर्व्यवहार गर्नुले स्वास्थ्य क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।

स्थानीय बासिन्दाहरूले घटनालाई निन्दनीय भन्दै ठाकुरमाथि कडा कारबाहीको माग गरेका छन् । “स्वास्थ्य सम्बन्धी अभिमुखीकरण दिने व्यक्ति नै मादक पदार्थको नशामा उत्रिन्छ भने यस्तो तालिमको प्रभावकारिता कस्तो होला ?” एक स्थानीयले प्रश्न गरे ।

पत्रकारहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई समेत घटनाबारे जानकारी गराइसकेका छन् । प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएर मापसे जाँच गर्ने र कानुनी कारबाही अघि बढाउने आश्वासन दिएका थिए ।

नेपाल पत्रकार महासङ्घ पर्साले घटनालाई गम्भीर रूपमा लिएको र दोषीमाथि कडा कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । घटनाले स्वास्थ्य क्षेत्रको जिम्मेवारीप्रति प्रश्न उठाएको छ भने पत्रकार र कर्मचारीबिचको सम्बन्धमा समेत तनाव सिर्जना गरेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *