Categories समाचार

सांसद प्रभु हजराको संसदमा गुहार : पर्सावासीलाई पानी चाहियो, आश्वासन होइन

Advertisement

काठमाडौं । सांसद प्रभु हजराले मंगलबार संसदको बैठकमा तराई, विशेषतः पर्सा जिल्लामा फैलँदो खानेपानी संकटबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।

सभामुखलाई सम्बोधन गर्दै सांसद हजराले भने, “हामी २१औँ शताब्दीमा प्रवेश गरिसकेका छौँ, तर पर्साका नागरिकहरू आज पनि बिहानैदेखि एक गाग्री पानीको लागि घण्टौँ लाइनमा बस्न बाध्य छन्। वृद्ध, महिला, बालबालिकाहरू टाढाटाढाबाट पानी खोज्दै हिंड्नुपरेको छ। यो अवस्था कहिले अन्त्य हुन्छ?”

Advertisement

सांसद हजराले जनताको दैनिक गुनासा, निवेदन र फोन स्थानीय तहदेखि मन्त्रालयसम्म पुगे पनि अझैसम्म कुनै ठोस पहल नदेखिएको भन्दै गुनासो गरे। “केही वडाहरूले डीप बोरिङ गरेका छन्, तर त्यो अस्थायी मात्र हो। भूगर्भीय पानीको अत्यधिक दोहनले दीर्घकालीन असर पुर्‍याउने निश्चित छ,” हजराको भनाइ थियो।

Advertisement

प्रधानमन्त्री र खानेपानी तथा सरसफाइ मन्त्रीलाई विशेष आग्रह गर्दै उनले भने, “यो अब योजनाको फाइलमा सीमित विषय होइन, यो जनताको जीउ–धन, स्वास्थ्य, सम्मान र अस्तित्वसँग जोडिएको विषय हो। कृपया अब ढिलाइ नगरियोस्।”

उनले वर्षा पानी संकलन तथा भण्डारण प्रणाली जडान, पाइपलाइन विस्तार, दीर्घकालीन जलस्रोत योजना तत्काल लागू गर्न माग गरे। सांसद हजराले संसदलाई भावुक शैलीमा सम्बोधन गर्दै भने, “आज आमा रुँदै छिन्, बालक तिर्खाएर बसेका छन्, वृद्धहरू पानी खोज्दै थाकिसकेका छन्। म यो संसदमा केवल कल्पनाको कुरा होइन, पर्साको यथार्थ बोकेर आएको छु।”

अन्त्यमा सांसद हजराले जनताको प्रतिनिधिका रूपमा आवाज उठाउनु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै भने, “जनताको प्यास अब नजरअन्दाज नगरियोस्। पानी उनीहरूको हक हो — त्यो हक सुनिश्चित गरियोस्। अब निर्णयको बेला आएको छ — कृपया यो आवाजलाई निर्णय, कार्य र समाधानको दिशामा लैजाऔं।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *