वीरगन्ज । मधेस प्रदेशमा गहिरिँदो पानी संकटका बीच सत्तारुढ जनमत पार्टीकै नेताले आफ्नै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा असन्तोष पोखेका छन्। जनमत पार्टी वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले सामाजिक सञ्जालमार्फत प्रदेश सरकार, विशेषतः मुख्यमन्त्री सतिश सिंहप्रति आक्रोश प्रकट गरेका हुन्।
सर्राफले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रति घण्टा एक दर्जनभन्दा बढी वीरगन्जका जनताले पानीको लागि गुहार गर्दै फोन कल गरिरहनु भएको छ। हामी निरीह छौं, असक्षम छौं, क्षमा प्रार्थी छौं। तर जनताको पानीको हकको लागि अन्तिम साससम्म लड्नेछौं, संघर्ष गर्नेछौं।” उनले मुख्यमन्त्रीलाई ट्याग गर्दै लेखेका छन् — “Hon. Satish Singh, केही त गर्नुहोस्।”
यस सार्वजनिक पोस्टमा स्थानीय नागरिकहरूका तीखा टिप्पणीहरू पनि आएका छन्। एकजनाले सर्राफलाई सोधेका छन्, “आफ्ना क्षेत्रका जनताका पीडा देख्नुहुन्न कि?” अर्का प्रयोगकर्ता विनय कुमारले कटाक्ष गर्दै लेखेका छन्, “कार्यकर्ता को गर्लफ्रेण्ड र बुढा बुढी नियुक्ति बाहेक फुर्सत मिले पो माननीय ज्युलाई।”
पानी जस्तो आधारभूत आवश्यकतामा सरकारको उदासीनता, र कार्यकर्ताको नियुक्ति र निजी लाभमा केन्द्रित भएको आरोपले प्रदेश नेतृत्व गम्भीर संकटमा परेको संकेत देखिन्छ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमाथि यसअघि पनि सुशासन, सेवाप्रवाह र जनउत्तरदायित्वको विषयमा प्रश्न उठ्दै आएका थिए। तर यो पटक आफ्नै पार्टीका जिम्मेवार नेताबाट आएको आलोचना गम्भीर मानिएको छ।
स्थानीय नेताहरूको भनाइले प्रदेश सरकार जनताको समस्या समाधानभन्दा दलगत भागबण्डा र पहुँचका आधारमा सत्ता सञ्चालनमा केन्द्रित भएको आभास दिलाउँछ। वीरगन्जजस्ता प्रमुख शहरमा पानीको व्यवस्था गर्न नसक्नु, त्यो पनि मनसुनको मुखमा, सरकारको कमजोरीको ज्वलन्त प्रमाण बनेको छ।
पानी जस्तो जीवनमूलक सेवा सुनिश्चित गर्न नसक्दा सत्तारुढ जनमत पार्टीभित्रै खैलाबैला मच्चिएको छ। आफ्नै नेताबाट आलोचना खेपिरहेका मुख्यमन्त्री सतिश सिंहका लागि यो चेतावनी मात्र नभई राजनीतिक साख जोगाउन अन्तिम मौका बन्न सक्छ।
जनताको पीडा सुन्ने, बुझ्ने र समाधान गर्ने संकल्प अहिलेको प्रमुख आवश्यकता हो — अन्यथा असन्तोषको यो आँधी सत्ताका शिखर हल्लाउन सक्नेछ।






