वीरगन्ज । पानीको चरम अभावसँग जुधिरहेको वीरगन्जमा बुधबार जनमत पार्टी निकट महिलाहरुले खाली घैटो र बाल्टिन बोकेर अनौठो तरिकाले विरोध जनाए। चापाकलहरू सुकेर दैनिक उपभोगको पानीसमेत अभाव भएपछि महिलाहरूको नेतृत्वमा ‘जल सत्याग्रह’ गरिएको हो।
जनमत पार्टीको महिला संगठन महिला जनमत संघ, पर्साको अगुवाईमा वीरगन्जको घण्टाघर चोकमा सडक बीचमै खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरिएको थियो। “जल सत्याग्रह”, “सरकार आँखा खोल, पानी दे कि मारी दे”, “पानी नपाए मुख्यमन्त्री कार्यालय घेराउ” जस्ता नाराले वातावरण तातेको थियो।
प्रदर्शनमा जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले पानी संकटबारे तीनवटै तहका सरकारको बेवास्ताप्रति आक्रोश पोख्दै भने, “सरकारहरू अन्धो र बहिरो बनेर वीरगन्जलाई हेरेका छन्। हाम्रो सहनशीलताको परीक्षा नलियोस्।” उनले वीरगन्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत दीर्घकालीन समाधानको माग गरे।
महिला जनमत संघ पर्सा अध्यक्ष अन्जना गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय नेताहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
प्रदर्शनमा सहभागी महिलाहरूले पर्सा जिल्लाका अधिकांश पालिकामा चापाकल सुक्दै गएको, पानीकै अभावमा बालबालिका, वृद्धवृद्धा, महिला सबैको जीवन अस्तव्यस्त भएको पीडा सुनाए।
अहिलेको गर्मी याममा वीरगन्ज लगायत पर्सा जिल्लाको अधिकांश क्षेत्रमा दैनिक पानी जोहो गर्नु नै चुनौती बन्दै गएको छ। पानीका लागि जनता ट्यांकर र बोरिङमा आश्रित बन्दै गएका छन्, तर सरकारी ध्यान अझैसमेत पुगेको छैन।
प्रदर्शनकारीहरुले चेतावनी दिँदै भने, “अब पानी नआए, आन्दोलन कडा बन्छ। मुख्यमन्त्री कार्यालय घेराउ गर्न पछि पर्दैनौं।”






