अनिल गुप्ता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वामा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको विशेष पहल तथा निर्देशनमा डिप बोरिङ्ग जडान गरिएपछि सर्वसाधारण पानी अभावबाट राहत पाएका छन्।
चालु वर्षको गर्मी मौसमसँगै परम्परागत चापाकलहरू सुक्न थालेपछि वीरगञ्जलगायत पर्साका विभिन्न पालिकाहरूमा पानीको चरम अभाव देखिएको छ।
स्थानीय जनताको तीव्र गुनासोपछि मन्त्री यादवले पर्साका प्रभावित पालिकाहरूमा तत्काल राहतस्वरूप डिप बोरिङ्ग जडान गर्न निर्देशन दिएका थिए।
मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहका अनुसार, वीरगञ्ज महानगरपालिकासँगै बहुदरमाई लगायतका पालिकाहरूमा समेत चरणबद्ध रूपमा डिप बोरिङ्ग जडान कार्य भइरहेको छ।
वीरगञ्ज–१६ इनर्वामा सम्पन्न बोरिङ्ग कार्यले सो क्षेत्रका सयौं घरधुरीलाई नुहाउने, खानेपिउने, खाना पकाउने तथा अन्य दैनिक क्रियाकलापका लागि सहज पानी सुविधा उपलब्ध गराएको छ।
यसैबीच, बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साहको अगुवाइमा पनि भौराटार, छपकैया, गम्हरिया, पदमौल, बिश्रामपुर, पिपरा, नगरदाहा लगायतका बस्तीहरूमा सफलतापूर्वक डिप बोरिङ्ग जडान गरिएको छ। स्थानीय स्यामबाबु यादवका अनुसार, एक डिप बोरिङ्गबाट सयौं घरपरिवार लाभान्वित हुँदै आएका छन्।
पानी जस्तो आधारभूत आवश्यकताबाट वञ्चित नागरिकहरूलाई सहज पहुँच पुर्याउन मन्त्री यादवको निर्देशन र स्थानिय तहको सक्रियता उदाहरणीय बनेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।






