Categories खेलकुद समाचार

नारायणी रंगशाला जिर्ण बन्दै, मन्त्री जयसवालको प्राथमिकतामा जनकपुरको नयाँ योजना

जनकपुरमै मात्र प्रेम? नारायणी रंगशालामाथि उपेक्षा, वीरगञ्जसंग विभेदको गुनासो

वीरगञ्ज । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बहु प्रतिक्षित ‘श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देशीय रंगशाला’ जनकपुरमा निर्माण हुने सुनिश्चित भएको बताएका छन्। उनले यो योजनालाई प्रदेश गौरवको योजनाका रूपमा अघि बढाउने घोषणा गर्दै, छिट्टै टेण्डर प्रक्रिया थालिने जानकारी दिएका छन्।

Advertisement

रङ्गशाला निर्माणको लागि गुठी संस्थानसँग समन्वय गर्दै प्रतिवर्ष ५० लाख लिज मागिएकोमा पहलमार्फत २४ लाख ९५ हजार रुपैयाँमा झारेर रकम भुक्तानीसमेत गरिएको मन्त्री जयसवालको भनाइ छ। उनले यसमा सहकार्य गर्ने मुख्यमन्त्री, संघीय र प्रदेश तहका विभिन्न मन्त्रीहरू, जनप्रतिनिधि, खेलाडी तथा अभियानकर्ताहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।

Advertisement

तर मन्त्रीको यो घोषणालाई लिएर उनको गृह जिल्ला पर्सामा भने आलोचना सुरु भएको छ। वीरगञ्जस्थित ऐतिहासिक नारायणी रंगशाला – जुन देशकै ठूला रंगशालामध्ये एक हो – संरक्षण र पुर्ननिर्माणको अभावमा जिर्ण बन्दै गएको छ। स्थानीय खेलाडी, खेल संघ र नागरिक समाजले नारायणी रंगशालामाथि प्रदेश सरकारले आवश्यक ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीय खेलाडीहरुको गुनासो छ — “हामीले पटक–पटक नारायणी रंगशालाको मर्मत र स्तरोन्नति माग्दै आएका छौं। तर मन्त्रीज्यूकै गृह जिल्लामा रहेको रंगशालाको संरक्षण त परै जाओस्, प्रदेश सरकारको प्राथमिकतामा कहिल्यै परेन। निरीक्षण र फोटोसुट त हुन्छ, तर बजेट छुट्याइँदैन।”

यसले वीरगञ्जवासीमा गहिरो चोट परेको छ। ‘जनकपुरलाई मात्रै प्राथमिकता, वीरगञ्जसंग विभेद?’ भन्ने सवालले समाजिक सञ्जाल र सार्वजनिक बहसमा चर्चा पाएको छ।

संघीय सरकारको बजेट र प्राथमिकताबाट समेत नारायणी रंगशाला ओझेलमा परेको भन्दै खेलकर्मीहरूले प्रदेश सरकारले त्यो अन्याय सच्याउनुपर्ने माग गरिरहेका छन्। उनीहरूको भनाइ छ, “वीरगञ्ज मधेश प्रदेशकै औद्योगिक राजधानी हो, यहाँको रंगशालालाई पनि समान दृष्टिकोणले हेर्नुपर्छ।”

यसैबीच, जनकपुरमा प्रस्तावित ‘सीताराम स्वयम्बर’ को झझल्को दिने कलात्मक रंगशालाको चर्चा भव्य भए पनि, वीरगञ्जसहित अन्य शहरहरूमा रहेको विद्यमान संरचनाको बेवास्ताले प्रदेश सरकारको नीतिमा असन्तुलन र असमानताको झल्को दिएको विश्लेषण हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *