घर–घरमा स्वच्छ र दिगो खानेपानी पुर्याउने लक्ष्यसहित नेपाल खानेपानी संस्थानसँग सम्झौता
बीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि रहेको खानेपानी अभावको समस्या समाधान गर्न नेपाल खानेपानी संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले एक औपचारिक कार्यक्रममा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीचको यो समझदारीलाई ऐतिहासिक मानेको छ, जसले महानगर क्षेत्रभित्रका सबै घरधुरीमा स्वच्छ, सुरक्षित र नियमित खानेपानी पुर्याउने लक्ष्य राखेको छ।
यस कार्यका लागि महानगरका मेयर राजेशमान सिंहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियता उल्लेखनीय रहेको छ।
सम्झदारीपत्र अनुसार, नेपाल खानेपानी संस्थानले पाइपलाइन विस्तार, मर्मत सम्भार, नयाँ धारा जडान, उपभोक्तालाई जानकारीमूलक जनचेतनामूलक कार्यक्रम सञ्चालन, सेवा गुणस्तरमा सुधार र गुनासो समाधानलगायत कामको जिम्मेवारी लिनेछ।
त्यस्तै, महानगरपालिकाले सेवा शुल्कको व्यवस्थापन, धरौटी रकमको भुक्तानी, कानुनी सहजीकरण, तथा जनचेतना अभिवृद्धिमा सहयोग गर्नेछ।
सम्झौताले विशेषगरी खानेपानीको चरम अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।
खानेपानी मन्त्री प्रदीप यादवले यो सम्झदारीले दीर्घकालीन समाधानतर्फ मार्ग प्रशस्त गर्ने बताउँदै खानेपानी मन्त्रालयले सहजीकरणकर्ता संस्था भएर भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो।
सम्झौताले श्रावण १, २०८२ देखि २०८४ पौष मसान्तसम्म कार्यान्वयन अवधि तोकेको छ, जसलाई आवश्यकताअनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
उक्त कार्यक्रममा महानगरका उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख प्रविण साहलगायत विभिन्न जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
मेयर सिंहले यो सम्झदारी वीरगञ्ज महानगरका बासिन्दाका लागि खानेपानी पहुँचमा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “महानगरपालिकाले परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण सहयोग पुर्याउनेछ।”
महाप्रबन्धक ढकालले संस्थान वीरगञ्जवासीलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन पूर्ण प्रतिबद्ध रहेको र सहकार्यको माध्यमबाट समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यो समझदारीले खानेपानीको क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने र जनस्वास्थ्यमा समेत सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।






