वीरगञ्ज । प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा संचालित छात्रवृत्ति परीक्षा २०८२ आगामी शनिबार (साउन १० गते) हुने भएको छ।
कक्षा ११ र १२ मा अध्ययनका लागि विद्यार्थी छनोट गर्न लागिएको यस प्रतियोगितात्मक परीक्षामा २८ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने आयोजकले जानकारी दिएको छ।
परीक्षा सम्बन्धी जानकारी दिन वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र सचिव अमित आलोकले परीक्षा, पुरस्कार तथा सहभागिता सम्बन्धी जानकारी प्रस्तुत गरे।
श्रीवास्तवले विद्यार्थीको क्षमता पहिचान गरी शैक्षिक अवसर प्रदान गर्न छात्रवृत्ति कार्यक्रमको आयोजना गरिएको बताए। “यसले शैक्षिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नुका साथै गुणस्तरीय शिक्षातर्फ विद्यार्थीलाई उत्प्रेरित गर्नेछ,” उनले भने।
छात्रवृत्ति परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मूल्यवान पुरस्कारको व्यवस्था गरिएको छ ।
पहिलो स्थान: ल्यापटप र दुई वर्षका लागि १००% निःशुल्क छात्रवृत्ति
दोस्रो स्थान: ट्याब र दुई वर्षका लागि पूर्ण छात्रवृत्ति
तेस्रो स्थान: ड्रेससहित दुई वर्षको छात्रवृत्ति
त्यस्तै, साइन्स र म्यानेजमेन्ट संकायमा पढ्ने छात्रछात्राहरूलाई रु. २,००० देखि रु. ५,००० सम्मको छुट र अन्य सुविधा उपलब्ध गराइनेछ।
छात्रवृत्ति परीक्षामा वीरगञ्जका १० वटा प्रतिष्ठित कलेजहरूले सहभागिता जनाएका छन्। तीमध्ये म्यास्कट एकेडेमी, ज्ञानदा एकेडेमी, मिनिल्याण्ड स्कूल, बीपीएस पब्लिक स्कूल, ओम नेशनल एकेडेमी, हिमालयन पिरामिड, बीसीपीएल, सिद्धार्थ नेशनल स्कूल लगायतका संस्थाहरू रहेका छन्।
यी कलेजहरूमा विज्ञान, व्यवस्थापन, शिक्षा, पत्रकारिता र कानून जस्ता संकायमा छात्रवृत्तिको अवसर प्रदान गरिनेछ।
यसबारे थप जानकारीका लागि अमित आलोक (सचिव): ९८१२२४४२२३, राहुल श्रीवास्तव (अध्यक्ष): ९८२०९२०००१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।






