काठमाडौं । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय मामिला तथा शहरी विकास मन्त्रालय र International Finance Corporation (IFC) बीच देशभरका ६ वटै महानगरपालिकामा IFC को सहकार्यमा प्राविधिक सहायता प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको Project Launch Workshop मा सहभागी जनाएका छन्।
काठमाडौंको नक्सालस्थित होटल मेरियटमा आयोजित उक्त कार्यशालामा प्रमुख सिंहले बीरगंज महानगरको समसामयिक अवस्थाका साथै विकासका सम्भावनाहरूबारे धारणा राख्दै प्राविधिक सहकार्यबाट महानगरलाई आधुनिक, व्यवस्थित र दिगो शहरमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।
उनले बीरगंजको मौलिक संरचना, आर्थिक गतिविधि, र भौगोलिक विशेषता अनुसार योजनाहरू निर्माण गर्न IFC सँग सहकार्य अझ प्रभावकारी हुने उल्लेख गरे।
राजेशमान सिंहले भने, “बीरगंज एउटा व्यापारिक केन्द्र मात्र नभई आर्थिक राजधानी हो, यसको पूर्वाधार विकासले समग्र प्रदेशकै आर्थिक गतिशीलता बढाउँछ। हामी IFC सँग सहकार्य गरेर योजनावद्ध तरिकाले आधुनिक सेवा, वातावरणीय सन्तुलन र स्मार्ट प्रविधिको प्रयोगमार्फत जनउत्तरदायी शहरी सेवा दिन प्रतिबद्ध छौं।”
कार्यक्रममा सहभागीहरूमाझ शहरी पूर्वाधार विकास, वित्तीय सुधार, वातावरणमैत्री प्रविधि र दिगो योजना निर्माणका लागि IFC को रणनीति र सम्भावित सहयोगका मोडालिटीबारे प्राविधिक विवरण प्रस्तुत गरिएको थियो।






