वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले असार महिनाको ‘Best Traffic Police of the Month’ अवार्ड प्रहरी निरीक्षक लोकराज भट्टलाई प्रदान गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्सामा दरबन्दी भई कार्यरत निरीक्षक भट्टले ट्राफिक व्यवस्थापन, राजस्व संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन लगायतका कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो।
उहाँले विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै इमान्दारिता, बफादारी, कर्तव्यनिष्ठा, अनुशासन र लगनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गरिएको छ। हालै सम्पन्न आर्थिक वर्षमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये वीरगञ्ज ट्राफिक कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएकोमा भट्टको नेतृत्व निर्णायक रहेको कार्यालयले जनाएको छ।
त्यस्तै, कार्यसम्पादन सम्झौताअन्तर्गत उल्लेखनीय लक्ष्य प्राप्त गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा पनि सक्रिय भूमिका खेलेको भन्दै कार्यालयले उहाँलाई उच्च मूल्याङ्कन गर्दै नगद रु. १,३०० सहित सम्मानित गरेको हो।
नेपाल प्रहरी नियमावली, २०७१ को परिच्छेद १५ को नियम १९७ को उपनियम बमोजिम दिइएको यस सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई समेत थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।






