वीरगन्ज । मधेश प्रदेशको भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा अग्रसर “मधेश प्रज्ञा–प्रतिष्ठान”को काम, कर्तव्य र आगामी कार्ययोजनाबारे बुधबार वीरगन्जमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
वीरगन्ज उद्योग वाणिज्य संघको बैठक कक्षमा आयोजित उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’को अध्यक्षतामा सम्पन्न भएको हो। छलफलमा प्रतिष्ठानको हालसम्मको प्रगतिबारे जानकारी दिँदै अध्यक्ष कापडीले जनकपुर बाहिर सम्पर्क कार्यालय विस्तार, मधेशको समग्र इतिहास लेखन, स्थानीय कला, संस्कृति र भाषाको अभिलेख तयार पार्ने जस्ता विविध योजनाहरु प्रस्तुत गरे।
कार्यक्रममा सहभागी स्थानीय सरोकारवालाहरुले मधेश प्रज्ञा-प्रतिष्ठानप्रति आफ्नो चासो र जिज्ञासा राखेका थिए। विगतमा प्रतिष्ठान तथा अध्यक्ष कापडीमाथि लागेका विभिन्न आरोपबारे उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिँदै उनले संस्था सशक्त र पारदर्शी रूपमा अघि बढिरहेको दाबी गरे।
छलफलमा प्रतिष्ठानले प्रदेश सरकारले अत्यन्त न्यून बजेट छुट्याएकोप्रति दुःख व्यक्त गर्दै सहभागी वक्ताहरुले मधेशको समृद्ध सांस्कृतिक पहिचानलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनीहरूले संस्थाले साहित्यिक अनुसन्धान, अभिलेखीकरण, पुस्तिका प्रकाशन, भाषिक बहुलतालाई सम्बोधन गर्ने नीति र कार्यक्रम ल्याउनुपर्ने माग समेत राखे।
कार्यक्रममा भोजपुरी प्रतिष्ठान वीरगन्जकी अध्यक्ष अनीता साह, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रशासन अधिकृत मनोज उपाध्याय, वरिष्ठ साहित्यकार विजयकिशोर पाण्डे, शिक्षाविद् डा. वीरबहादुर महतो, श्याम सर्राफ, वीरगन्ज संगीत कला परिषदका उपाध्यक्ष साबिर हुसेन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।






