Categories समाचार

श्रीसिया नदी संरक्षणबारे महत्वपूर्ण छलफल, नगरप्रमुख सिंहको अध्यक्षतामा मन्त्री यादवको प्रतिबद्धता

Advertisement

वीरगंज । पर्सा जिल्लाको श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका विषयमा आज वीरगंजमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा संघीय खानेपानी मन्त्री प्रदीप यादव प्रमुख वक्ताका रूपमा सहभागी थिए।

Advertisement

कार्यक्रममा नगरप्रमुख सिंहले श्रीसिया नदी वीरगंजको जीवनरेखा भएकाले यसको संरक्षण तत्काल जरुरी रहेको भन्दै स्थानीय तहको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए। उनले नदीको दुर्दशा देख्दा दुःख लाग्ने र प्रदूषण न्यूनीकरणका लागि अब निर्णयात्मक कदम चाल्नुपर्ने बेला आएको धारणा राखे।

Advertisement

संघीय खानेपानी मन्त्री यादवले नदी प्रदूषणलाई गम्भीर रूपमा लिँदै तत्काल र दीर्घकालीन समाधानका उपायहरू प्रस्तुत गरे। उनले एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा खानेपानी मन्त्रालयको सहलगानीमा आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण हुने जानकारी गराउँदै वीरगंज महानगरलाई आवश्यक प्रस्ताव जतिसक्दो चाँडो पेश गर्न आग्रह गरे।

“स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सहकार्यबिना दीगो समाधान सम्भव छैन,” मन्त्री यादवले भने, “खानेपानी मन्त्रालयको तर्फबाट सम्पूर्ण पहल गरिनेछ।”

छलफलमा सहभागी अन्य सरोकारवालाहरूले पनि नदीको संरक्षणका लागि एकीकृत प्रयासको खाँचो औंल्याएका थिए। कार्यक्रमले वीरगंजवासीको लामो समयदेखि उठ्दै आएको मागलाई नीतिगत रूपमा सम्बोधन गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।

कार्यक्रममा खानेपानी विभागका महानिर्देशक राम कुमार श्रेष्ठ, आयोजना निर्देशक सुरत कुमार बम, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, महानगरका प्राविधिकलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *