वीरगन्ज । नेपालमै पहिलोपटक भोजपुरी भाषामा लेखिएको ललित निबन्ध संग्रह ‘सूरज डूबे रे नदिया’ को लोकार्पण समारोह वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।साहित्यकार गोपाल अश्कद्वारा रचित यो कृति भोजपुरी साहित्यमा मीलको पत्थर सावित हुने विश्वास वक्ताहरूले व्यक्त गरे।
कार्यक्रमको उद्घाटन गम्लामा पानी हालेर र राष्ट्रियगान बजाएर गरिएको थियो। प्रमुख अतिथि डा. हरिन्द्र हिमकरले पुस्तक विमोचन गर्दै लेखकको भाषिक कौशल र भावप्रवण दृष्टिकोणको प्रशंसा गरे। उनले भने, “भोजपुरीमा यस्तो प्रकारको निबन्ध लेखन नेपालमा पहिलो हो, र गोपाल अश्कले यो जिम्मेवारी दृढतापूर्वक बहन गर्नुभएको छ।”
भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा आयोजित कार्यक्रममा अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष अनिता साहले गरेकी थिइन्। प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे ‘हेरस’ प्रमुख वक्ताका रूपमा मन्तव्य दिँदै भोजपुरी साहित्यको सम्भावना, सशक्त अभिव्यक्ति र सामाजिक सन्देश दिन सक्ने क्षमतामाथि जोड दिएका थिए।
कार्यक्रम सञ्चालन श्याम सर्राफले संयोजित शैलीमा गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य आमोद गुप्ताले राखेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमा धुवर सिंह ठकुरी, डा. इन्द्रदेव साह, विजयराज पाण्डे, विजयराज गौतम, सिता शर्मा, छोटेलाल प्रसाद, रामप्रसाद साह, गीता भण्डारी लगायत साहित्यप्रेमी, शिक्षक, पत्रकार तथा समाजसेवीहरू थिए।
वक्ताहरूले लेखकको लेखाइमा रहेको मानवीय संवेदना, भोजपुरी भाषा प्रतीको प्रतिबद्धता र शैलीगत प्रखरतालाई उच्च सम्मानका साथ उल्लेख गरे। कार्यक्रममा सबै प्रमुख अतिथिहरूलाई परम्परागत गम्छा ओढाएर सम्मान गरिएको थियो।
साहित्यकार अश्क भोजपुरीसहित नेपाली, हिन्दी लगायतका भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन्। उनी भोजपुरी भाषाका वरिष्ठ साहित्यकार मात्र नभई, भोजपुरी प्रतिष्ठान वीरगन्जका सल्लाहकार एवं नेपाल सरकारको भाषा आयोगका सदस्य पनि हुन्। भाषिक र सामाजिक सीमाहरूलाई पार गर्दै उनले नेपाली बहुभाषिक साहित्यको क्षेत्रमै पृथक छवि बनाएका छन्।







