वीरगञ्ज । घरायसी विवादले उग्र रूप लिँदा पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–५ शंकरसरैयामा एक महिलाको ज्यान गएको छ ।
प्रहरीका अनुसार ३२ वर्षीय जितेन्द्र माझी मुसहरले मादक पदार्थ सेवन गरी आफ्नी २४ वर्षीय श्रीमती असपतलीया देवी मुसहरमाथि आक्रमण गरेका थिए ।
जितेन्द्रले मुक्का र लट्टी प्रहार गरी श्रीमतीको घाँटीमा गम्भीर चोट पुर्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना साउन १७ गते साँझ ६:३० बजे भएको प्रहरीको भनाइ छ ।
स्थानीयवासीबाट सूचना प्राप्त भए लगत्तै अस्थायी प्रहरी पोस्ट शंकरसरैयाका प्रहरी सहायक निरीक्षक बिकाऊ साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त जितेन्द्रलाई घेराबन्दी गरी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त भएको र थप अनुसन्धान जारी रहेको डिएसपी लम्सालले बताए ।







