सिमरा । जीतपुर सिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिका वडा नं. ३२, छोर्नी क्षेत्रमा ठेक्का–पट्टाको नाममा खुलेआम लुटपाट भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।
नितनपुरभन्दा अगाडि, दाल मिल्स नजिकैको क्षेत्रमा ट्रक चालकहरूमाथि अवैध रुपमा कर उठाउने, धम्की दिने र झगडा गर्ने गतिविधि बढ्दो रहेको पिडित चालकहरूले बताएका छन्।
प्राप्त जानकारीअनुसार, ठेकेदार समूहले ट्रकहरूलाई जबरजस्ती रोक्ने, सवारी कर उठाउने बहानामा पैसा असुल्ने, असहयोग गरेमा गालीगलौज र धम्की दिने गरेका छन्। यसबाट हैरान चालकहरूले स्थानीय प्रशासनमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
“हामी नियमित भाडा तिरेर काम गरिरहेका छौं, तर यता आउनेबित्तिकै अड्डा जमाएर बसेका केही व्यक्तिहरूले ठेक्का देखाउँदै पैसा माग्छन्। दिन नमानेपछि गाली गर्छन्, धम्क्याउँछन्,” एक ट्रक चालकले आफ्नो पीडा सुनाए।
यो क्षेत्र वीरगञ्ज महानगरपालिकाको वडा नं. ३२ मा पर्ने छोर्नी हो, जहाँ बारम्बार यस्ता गैरकानुनी गतिविधिहरू हुने गरेको स्थानीयहरू पनि बताउँछन्। चालकहरूको भनाइ अनुसार यो लुटपाट अन्यत्र भन्दा बढी यही क्षेत्रमा केन्द्रित छ।
यता स्थानीय प्रशासन र प्रहरी कार्यालय भने मौन देखिएको छ। चालकहरूले प्रहरीमा फोन गर्दा प्रतिक्रिया नआएको र प्रशासनले पनि कुनै कदम नचालेको आरोप लगाएका छन्। “कतै सुनुवाइ छैन, सबै मौन छन्, मानौं ठेकेदारहरूको राज चलिरहेको छ,” अर्का एक चालकले भने।
यसैबीच, स्थानीय बासिन्दा र ढुवानी व्यवसायीहरूले समेत यस्ता कार्य तुरुन्त बन्द गरिनुपर्ने माग गरेका छन्। उनीहरूले जीतपुर सिमरा उपमहानगरपालिकासँग घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
यदि समयमै कदम चालिएन भने, यस्ता गतिविधिहरूले समग्र ढुवानी सेवा प्रणालीमा गम्भीर असर पार्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।






