वीरगञ्ज । अपहरण तथा जबरजस्ती करणीको गम्भीर आरोपमा संलग्न दुई जना व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि २०८२ साल वैशाख २० गते एक युवतीलाई अपहरण गरी होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित युवती वैशाख २० गते साँझ आफ्ना बाख्राहरू गोठमा बाँधी घर फर्कने क्रममा दुई जना अज्ञात व्यक्तिहरूद्वारा बाटोमै नियन्त्रणमा लिइएकी थिइन्। ती व्यक्तिहरूले उनको मुखमा कपडाको बुझो लगाई आँखामा कालो पट्टी बाँधी वीरगञ्जको बसपार्कस्थित गणेश होटल एण्ड लजको दोस्रो तलाको कोठामा लगेका थिए।
उक्त स्थानमा पालैपालो जबरजस्ती करणी गरेपछि वैशाख २३ गते बिहान करिब ८:०० बजे पर्सा जिल्लाको घडिअर्वा पोखरीको गल्लीमा रगताम्य अवस्थामा उनलाई छाडेर फरार भएका थिए।
पीडितको किटानी जाहेरीका आधारमा घटनामा संलग्न रहेका दुई जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–२, सिसियारी घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ स्थित राधेमाईमा नेक मोटरसाइकल वर्कशप सञ्चालन गर्दै आएका करिब ४० वर्षीय नेक महमद र सोही वर्कशपमा कार्यरत रौतहट निवासी करिब २१ वर्षीय अफताब अन्सारी रहेका छन्।
उनीहरूलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।






