वीरगञ्ज । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीप्ती यादवका अनुसार गर्भावस्था कुनै रोग होइन, तर यो अत्यन्त संवेदनशील अवस्था हो, जसमा महिलाले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । उनले गर्भवती महिलालाई सन्देश दिँदै ‘सावधानी अपनाउँदा मात्र सुरक्षित मातृत्व सुनिश्चित गर्न सकिन्छ,’ भनिन् ।
गर्भवती अवस्थाका नौ महिनालाई ध्यानपूर्वक व्यवस्थापन गर्न सकिएमा मात्र आमाको स्वास्थ्य सुरक्षित राख्न र स्वस्थ शिशुको जन्म सुनिश्चित गर्न सकिने डा. यादवको भनाइ छ । उनका अनुसार गर्भवती महिलाले तलका महत्वपूर्ण विषयमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ ।
१. नियमित स्वास्थ्य परीक्षण अनिवार्य
गर्भावस्थाको सुरुवातदेखि नै महिलाले स्त्री रोग विशेषज्ञको निगरानीमा रहनु पर्छ । कम्तिमा पनि चारपटक नियमित जाँच अनिवार्य छ – पहिलो त्रैमासिकमा एकपटक, दोस्रो त्रैमासिकमा एकपटक, र तेस्रो त्रैमासिकमा दुईपटक ।
“थप जाँच आवश्यक पर्न सक्छ, विशेषगरी उच्च जोखिममा रहेका गर्भवतीहरूका लागि,”
२. सन्तुलित र पोषिलो आहार
प्रत्येक दिन सन्तुलित मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन, क्याल्सियम, फोलिक एसिड र प्रशस्त पानी सेवन गर्नुपर्ने सल्लाह उनी दिन्छिन्।
“भोक कम लागे पनि थोरै थोरै खाएर पोषण सुनिश्चित गर्नुपर्छ,”
भुलवश ‘दुई जनाको लागि खानुपर्छ’ भन्ने भ्रममा नपरी सन्तुलनमा आधारित खानपान गर्नुपर्ने उनको सुझाव छ ।
३. शारीरिक सक्रियता र व्यायाम
गर्भवती महिलाले अत्यधिक आराम मात्र गरेर बस्नु हुँदैन । बिहान वा बेलुका हल्का हिँडडुल गर्नाले रक्तसञ्चार राम्रो हुन्छ र सुत्केरी अवस्थालाई सहज बनाउन सहयोग गर्छ ।
“यदि स्वास्थ्यमा गम्भीर समस्या छैन भने गर्भकालमा हल्का योग अभ्यास वा श्वासप्रश्वास सम्बन्धी व्यायाम पनि गर्न सकिन्छ,”
४. मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन
गर्भवती अवस्थामा आउने हर्मोन परिवर्तनले मनोभावनामा उतारचढाव आउन सक्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन राख्न ध्यान, संगीत सुन्ने, किताब पढ्ने वा आफन्तसँग खुलेर कुरा गर्ने जस्ता उपाय अपनाउनुपर्ने छ ।
“तनाव र चिन्ता शिशुको मानसिक विकासमा पनि असर पार्न सक्छ,” उनले चेतावनी दिइन् ।
५. निद्रा र विश्राममा विशेष ध्यान
गर्भवती महिलाले हरेक दिन कम्तिमा ८ देखि १० घण्टासम्म निद्रा लिनुपर्छ । पर्याप्त आरामले शरीर पुनः ऊर्जावान हुन्छ र भ्रूणको विकास राम्रोसँग हुन्छ ।
“बाँया करवट सुत्दा बच्चाको रक्तसञ्चार राम्रो हुन्छ,”
६. खतराको संकेत देखिए तत्काल अस्पताल जानुपर्छ
गर्भावस्थामा केही असामान्य लक्षणहरू देखिएमा ढिलो नगरी चिकित्सकलाई देखाउनु पर्ने डा. यादवको स्पष्ट सुझाव छ । ती संकेतहरू यस्ता हुन सक्छन्:
- रक्तश्राव
- पेटको तीव्र दुखाइ
- बच्चाको चाल कम हुनु
- उच्च ज्वरो
- दृष्टि धमिलो हुनु
“यी लक्षणहरू गम्भीर समस्याको संकेत हुन सक्छन्, तुरुन्त अस्पताल जानुपर्छ,”
७. जोखिमयुक्त व्यवहारबाट परहेज
गर्भवती महिलाले धूम्रपान, मदिरा, जंक फूड, अत्यधिक कफी सेवन, झोलिलो औषधि जस्ता कुराबाट पूर्णरूपमा टाढा रहनुपर्छ ।
८. परिवार र समाजको साथ
“गर्भवती महिलालाई मानसिक र भावनात्मक सन्तुलनमा राख्न घरपरिवार, श्रीमान, सासु–ससुरा लगायत सम्पूर्ण समाजको साथ र सहयोग जरुरी छ ।”
“मायालु व्यवहार, समझदारी र समर्थनले गर्भवती महिला बलियो र आत्मविश्वासी बन्छिन्,”
‘गर्भवती महिलाले सजग जीवनशैली, नियमित जाँच, पोषिलो खाना र सकारात्मक सोच अपनाएर स्वस्थ सन्तान जन्माउन सकिन्छ ।’
उनको भनाइमा वैज्ञानिक, व्यवहारिक र मातृत्व–मैत्री सल्लाह पाइन्छ, जुन प्रत्येक आमाका लागि मार्गदर्शक बन्न सक्छ ।






