वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका–४ विजयवस्ती नजिकैको गोपीवस्तीमा दुर्लभ पाटे बाघ आइतबार मृत अवस्थामा भेटिएको छ।
बिहान खेततर्फ जाँदै गरेका किसानहरूले बाटोमै बाघ लडेको देखेपछि सुरुमा जीवित छ कि भनेर त्रसित हुँदै फरार भएका थिए।
निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिनबहादुर श्रेष्ठका अनुसार, घटनास्थल पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ त्यही क्षेत्रबाट भट्किँदै आएको हुनसक्ने अनुमान गरिएको छ।
प्रारम्भिक तथ्याङ्कअनुसार बाघको मृत्यु आपसी लडाइँकै परिणाम हुनसक्ने देखिन्छ। घटनास्थल वरिपरि जमिन खोतलिएको, संघर्षका स्पष्ट संकेत भेटिएको र घाँटीमा अर्को बाघको टोकाइबाट हुने प्रकारको घाउ देखिएको श्रेष्ठले जानकारी दिए।
यस घटनाले सीमावर्ती वन क्षेत्रमा वन्यजन्तु संरक्षण र निगरानी थप मजबुत बनाउनुपर्ने आवश्यकता पुनः सतहमा आएको छ।




