Categories समाचार

प्रसौनी गाउँपालिकामा खानेपानी परियोजना सुरु, स्थानीय बासिन्दामा उत्साह

Advertisement

प्रसौनी । प्रसौनी गाउँपालिकामा खानेपानी डिप बोरिङ जडान कार्य औपचारिक रूपमा सुरु गरिएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादव र गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालको संयुक्त पहलमा वडा नं. १ देखि ७ सम्मका लागि यो परियोजना प्रारम्भ गरिएको हो।

गाउँपालिका अध्यक्ष जैसवालले शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउन पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै परियोजनाबाट सम्पूर्ण वडाका बासिन्दाहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय बासिन्दाहरू यस योजनाको सुरुवातप्रति हर्षित र उत्साहित देखिएका छन्।

Advertisement

खानेपानी मन्त्री यादवले कार्यक्रममा सम्बोधन गर्दै तराई–मधेसका जिल्लामा खानेपानीको समस्या गम्भीर बन्दै गएको र यसलाई तत्काल तथा दीर्घकालीन रूपमा समाधान गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

Advertisement

बारा जिल्लाको परवानीपुर र प्रसौनी गाउँपालिकामा स्थलगत अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेसमा पानीको स्रोत सुक्दै गएको र डिप बोरिङ जडानले यस्तो समस्यालाई केही हदसम्म समाधान गर्न सक्ने आशा व्यक्त गर्नुभयो।

उहाँले खानेपानी मन्त्रालय मातहतका निकायहरूमार्फत मधेसका जनतासम्म स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले डिप बोरिङ जडान कार्य अघि बढाइएको जानकारी दिनुभयो।

परियोजना सम्पन्न भएपछि प्रसौनी गाउँपालिकाका हजारौं नागरिकले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष याकुब अंसारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *