Categories समाचार

वीरगञ्ज उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु, सुरक्षा व्यवस्थामा प्रश्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टील उद्योगमा कार्यरत २२ वर्षीय उपेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।

बाराको जितपुरसिमरा–१४ घर भएका चौधरी उद्योगको वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा काम गर्दै थिए। घटना पश्चात् चौधरीलाई अस्पताल पुर्‍याए पनि राति ३ बजे मृत घोषणा गरिएको पर्सा प्रहरीका उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

Advertisement

मृतकका परिवारले उद्योगमा मजदुरहरूको सुरक्षाको पर्याप्त व्यवस्था नभएको आरोप लगाएका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सिनाले नारायणी स्टील उद्योगमा ठेकेदारमार्फत मजदुर राख्ने गरिएको र ट्रेड युनियनसम्बन्धी अधिकार तथा अन्य कानुनी सुविधा नदिइएको बताए।

Advertisement

क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले मृतक नियमित मजदुर नभए पनि दुर्घटना बीमा भएकोले सरकारअनुसार क्षतिपूर्ति प्रदान गरिने जानकारी दिनुभयो। उहाँले उद्योगमा पर्याप्त सुरक्षा उपाय अपनाइए पनि दक्ष कामदारको अभावले यस्ता दुर्घटना हुने गरेको दाबी गर्नुभयो।

अध्यक्ष तिमिल्सिनाले मजदुरलाई उचित क्षतिपूर्ति र परिवारलाई नियमित पेन्सन नदिँदा कानुनी बाटो अपनाइने चेतावनी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *