वीरगन्ज । वीरगन्ज महानगरपालिकाको राजस्व संकलन यस वर्ष दोब्बरले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मात्र महानगरले करिब ११ करोड ३५ लाख २८ हजार ५९७ रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको सोही महिनामा संकलित राजस्वको लगभग दोब्बर हो।
गत आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा महानगरले करिब ५ करोड २१ हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको थियो। राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार, यस वर्षको पहिलो महिनामै प्राप्त भएको राजस्व अघिल्लो वर्षको तुलनामा निकै उत्साहजनक छ। उनका अनुसार, गत वर्ष महानगरले कुल ६३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
महानगरपालिकाले सम्पत्ति कर, व्यवसाय कर, घरजग्गा करलगायतका स्रोतबाट राजस्व संकलन गर्दै आएको छ। कर तिर्न करदातालाई उत्प्रेरित गर्न यस वर्ष विशेष “घरदैलो अभियान” समेत सञ्चालन गरिएको थियो।
उक्त अभियानमा स्वयं महानगर प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरबन्दिलाल कर्णसहित शीर्ष अधिकारीहरू सक्रिय रूपमा सहभागी भएका थिए।
यसरी पहिलो महिनामै राजस्व संकलनमा हासिल भएको सफलता महानगरको आगामी वर्षभरको राजस्व व्यवस्थापनमा सकारात्मक संकेतका रूपमा लिइएको छ।






