Categories समाचार

वीरगञ्जका प्रमुख सिंहद्वारा पानीजन्य रोगबाट बच्न सतर्कता अपनाउन अपिल

Advertisement

वीरगञ्ज । हाल वीरगञ्जमा हैजा र अन्य पानीजन्य रोगको संक्रमण फैलिँदै गएको पृष्ठभूमिमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरबासीलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले आउँ, झाडापखाला, जन्डिस तथा हैजा जस्ता रोग नियन्त्रणका लागि दैनिक जीवनमा स्वच्छता कायम गर्न र सुरक्षित खानेपानी प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

Advertisement

प्रमुख सिंहले भने, “खाना खानु अघि वा दिसापिसाब गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुहोस्, उमालेर वा क्लोरिनेशन गरेर मात्र पानी पिउनुहोस्। चर्पी प्रयोग गरी सरसफाइ कायम राख्यौं भने हामी सबैजना हैजा जस्ता रोगबाट सुरक्षित रहन सक्छौँ।”

Advertisement

महानगरपालिकाले पानीजन्य रोगबाट बच्नका लागि अपनाउनुपर्ने मुख्य उपायहरूबारे समेत नगरबासीलाई जानकारी गराएको छ। तीमध्ये प्रमुख उपाय यसप्रकार छन्:

१. चर्पी प्रयोग र सरसफाइ कायम गर्ने

सधैँ चर्पीमै दिसापिसाब गर्ने।

चर्पीलाई सफा सुग्घर राख्ने।

खुला स्थानमा दिसापिसाब नगर्ने। यसो गर्दा दिसा, फोहर र किराकीटबाट फैलिने रोग रोकथाम हुन्छ।

२. साबुनपानीले हात धुने बानी बसाल्ने

खाना खानु अघि।

बच्चालाई खाना खुवाउनु अघि।

खाना पकाउनु वा खुवाउनु अघि।

दिसापिसाबपछि।

बच्चाको दिसा सफा गरेपछि।

फोहर छोएपछि।

३. सुरक्षित खानेपानी प्रयोग गर्ने

उमालेर: पानीलाई एक भुल्को उमालेर मात्र पिउनुपर्ने, उमालेको पानीलाई छोपेर राख्नुपर्ने।

क्लोरिनेशन गरेर:

पियुष (६० मि.लि.): एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल हाल्ने।

पियुष+ (२४० मि.लि.): १०–१५ लिटर पानीमा निर्धारित मात्रामा हाल्ने।

अक्वाट्याब: ५ लिटर पानीमा एक चक्की हाल्ने।

वीरगञ्ज महानगरपालिकाले हाल मुर्ली टोल लगायतका क्षेत्रमा हैजाका बिरामी भेटिएको र स्वास्थ्यकर्मी परिचालन गरी समुदायस्तरमै सचेतना अभियान सुरु गरिएको जानकारी दिएको छ। साथै, विद्यालय, बजार, सामुदायिक स्थल र टोल–टोलमा स्वास्थ्य शिक्षा तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।

प्रमुख सिंहले नगरबासीलाई एकजुट भई सावधानी अपनाउन आग्रह गर्दै थपे, “स्वस्थ जीवनका लागि सानो सावधानी नै ठूलो सुरक्षा हो। सरसफाइ, स्वच्छ खानेपानी र व्यक्तिगत स्वच्छतामार्फत हामी पानीजन्य रोग नियन्त्रण गर्न सक्छौँ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *