Categories स्वास्थ्य

वीरगंजमा हैजा समुदायस्तरमै फैलियो, महानगरले हेल्पडेस्क र सूचना केन्द्र स्थापना

Advertisement

वीरगंज । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ। शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।

शनिबारसम्म आइपुग्दा हैजा वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ। यसबीच शनिबार महानगरले यहाँ सञ्चालित अस्पतालका सञ्चालकहरूसँग बैठक गर्दै संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement

महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिँदै प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिनुभएको छ।

Advertisement

महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ।

अहिले वीरगंजको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ र त्यहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ। यसै क्रममा महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउन विशेष पहल गरेको छ।

यसमार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय, र आपतकालीन सम्पर्क सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले समुदायस्तरमै निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विशेष गरी मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको हो।

अहिले नारायणी अस्पताल, वीरगंज हेल्थकेयर, तराई अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीहरूको चाप बढिरहेको छ। शनिबारसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी छ।

विशेषज्ञहरूले दूषित पानी र खाना सेवनबाट हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्। हाल वीरगंजको विभिन्न बस्तीमा ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ।

त्यसैले महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ। यससँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *