Categories स्वास्थ्य

हैजा नियन्त्रणमा प्रमुख सिंहको अगुवाइ, स्वास्थ्यकर्मी र नर्सिङ विद्यार्थी घरदैलोमा सक्रिय

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजाको प्रकोप नियन्त्रणका लागि घरदैलोमै पुगेर जनचेतना फैलाउने अभियानलाई तिव्रता दिएको छ।

यस क्रममा महानगरका स्वास्थ्यकर्मीहरू र नर्सिङ क्याम्पसका विद्यार्थीहरूले विभिन्न वडामा घर–घर पुग्दै सचेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गरिरहेका छन्।

Advertisement

सचेतना टोलीले नागरिकलाई खानेपानी उमालेर मात्र प्रयोग गर्न, हरियो तरकारी उमालेको पानीले धोएर पकाउन, साबुनपानीले राम्ररी हात धुन जस्ता महत्वपूर्ण सावधानीहरू अपनाउन आग्रह गरिरहेका छन्।

Advertisement

प्रभावित क्षेत्रमा नालामा औषधि छर्ने र पानीमा क्लोरिन प्रयोग गर्ने कार्य पनि एकैसाथ सञ्चालन भइरहेको छ।

शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालहरूमा २ सयभन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन् भने तीमध्ये ३९ जनामा हैजाको पुष्टि भइसकेको छ। नारायणी अस्पतालमा मात्रै ३३ बिरामी उपचाररत छन्, जसमा १३ जनामा हैजा पुष्टि भएको छ।

महानगर प्रमुख राजेशमान सिंह स्वयं अग्रसर भई प्रत्यक्षरूपमा अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझिरहेका छन्। साथै स्वास्थ्य टोलीहरूको कार्यलाई निरन्तर अनुगमन गर्दै कुनै पनि अवस्थामा लापरबाही नगर्न आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, “हैजा नियन्त्रणमा हातेमालो गर्न सबै नागरिकको सहयोग अपरिहार्य छ। चनाखो भएर सुझाइएका उपायहरूको पालना गर्न सकेमा यो महामारीलाई छिट्टै नियन्त्रणमा लिन सकिन्छ।”

महानगरपालिकाले प्रभावित क्षेत्रमा हालसम्म २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घर–घरमा पुगेर जनतालाई सजग बनाउन थालेपछि समुदायस्तरमै जनचेतना फैलिएको देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *