Categories समाचार

वीरगंजमा हैजा नियन्त्रणका लागि महानगर प्रमुख सिंह सक्रिय

Advertisement

वीरगंज । वीरगंजमा फैलिएको हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिका तिब्र गतिमा काम गरिरहेको छ। यस अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख राजेशमान सिंह आफैं अग्रसर भई प्रत्यक्षरूपमा अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई पनि आफैं निरन्तर मनिटरिङ गरिरहेका छन्।

शनिबार साँझ उहाँ वीरगंज हेल्थकेयर अस्पताल पुग्नु भएको छ । सो अस्पतालमा हाल १४ भन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन्। यसअघि दिउँसो नारायणी अस्पताल पुगेर त्यहाँका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो। नारायणी अस्पतालमा हाल ३३ जना झाडापखालाका बिरामी उपचाररत छन्, जस मध्ये १३ जनामा हैजाको पुष्टि भइसकेको छ।

Advertisement

महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ।

Advertisement

महानगर प्रमुख सिंहले आफैं प्रत्यक्ष निगरानी गर्दै जनशक्ति र स्रोतसाधन परिचालन गराइरहनुभएको छ । आवश्यक अवस्थामा एम्बुलेन्ससहितका सवारी साधन तत्पर अवस्थामा राखिएको छ भने महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नियन्त्रण अभियानलाई अझ व्यवस्थित पारेको छ।

शनिबार साँझसम्म वीरगंजका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ३९ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने २ सयभन्दा बढी बिरामी उपचाररत रहेका छन्।

महानगर प्रमुख सिंहले हैजा नियन्त्रणलाई प्राथमिकतामा राख्दै भन्नुभयो, “कुनै पनि अवस्थामा लापरबाही नगरी चनाखो भएर बस्नुपर्ने छ, सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *