Categories समाचार

हैजा नियन्त्रणका लागि वीरगञ्ज महानगरको कडाइ, बजार क्षेत्रको अनुगमनमा सक्रिय टोली

Advertisement

वीरगञ्ज । हाल वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका तीव्र गतिमा जनचेतना र सरसफाइ अभियान सञ्चालन गरिरहेको छ।

महानगर प्रमुख राजेशमान सिंहको स्पष्ट निर्देशनअनुसार पशु सेवा शाखाका प्रमुख डा. सुदिप कुमार शर्मा, वातावरण शाखाका प्रमुख प्रकाश ऐर र महानगर प्रहरी बलका निरीक्षक हरि भुसालको संयुक्त टोलीले बजार क्षेत्रको अनुगमन गर्दै माछा, मासु, सेकुवा तथा अन्य पशुजन्य पदार्थको ढुवानी र बिक्री वितरणमा स्वच्छता कायम गर्न कडाइका साथ निर्देशन दिएको छ।

Advertisement

यस क्रममा खुला रूपमा खाद्य वस्तु राख्ने, अस्वच्छ वातावरणमा बिक्री गर्ने तथा सरसफाइप्रति बेवास्ता गर्ने गतिविधिमा निगरानी र कारबाहीलाई तीव्र पारिएको महानगरपालिकाले जनाएको छ।

Advertisement

महानगर प्रमुख सिंहले हैजाको प्रकोप नियन्त्रणका लागि सम्पूर्ण स्रोत साधन परिचालन गरिएको र यसलाई सर्वोच्च प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “कुनै पनि अवस्थामा लापरबाही नगरी सबै जिम्मेवार निकाय र नागरिकले एकजुट भएर चनाखो बन्नुपर्छ। महानगरपालिका यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ।”

यस अभियानलाई सफल बनाउन बजार व्यवस्थापन, खानेपानी आपूर्ति, सरसफाइ प्रणाली, स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रमलगायतका क्षेत्रमा सक्रिय पहल भइरहेको छ।

महानगरपालिकाले नागरिकलाई वरिपरिको सरसफाइमा ध्यान दिन, उमालेको वा सफा पानी मात्र पिउन, खुला रूपमा राखिएका खाद्य सामग्री नखान र कुनै बिरामी देखिए तत्काल स्वास्थ्य संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *