बारा । वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लामा फैलिरहेको हैजाको जोखिमलाई मध्यनजर गर्दै बारा जिल्लाको प्रसौनी गाउँपालिकाले गाउँवासीलाई सतर्क रहन आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हैजा संक्रमण गाउँ क्षेत्रमा फैलिन नदिन सबैलाई उच्च सावधानी अपनाउन अनुरोध गर्नुभएको हो।
सूचनामा गाउँभित्रका बजार क्षेत्रमा चटपटे, पानीपुरी, चाट, माछा जस्ता खाद्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ। साथै होटेल तथा पसलहरूले खाद्य पदार्थ सफा र सुरक्षित तरिकाले मात्र भण्डारण र बिक्री गर्नुपर्ने, दिसा–पिसाब चर्पीमै गर्नुपर्ने, खाना खानु अघि साबुनपानीले हात धुनुपर्ने लगायतका मापदण्ड पालना गर्न निर्देश गरिएको छ।
सफा र उमालिएको पानी मात्र पिउनु, ताजा खाना सेवन गर्नु र सडेगलेका वा वासी खानेकुरा खान निषेध गरिएको पनि सूचनामा उल्लेख छ।
गाउँपालिकाले हैजा नियन्त्रणका लागि सबै गाउँवासीलाई सचेत रहन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गरेको छ।






