विराटनगर । मोरङ जिल्ला कारागारको महिला सेलभित्र एक कैदी मृत फेला परेकी छिन् । कारागार प्रमुख गौरव ढुङ्गेलका अनुसार आज बिहान करिब ४ बजे शौचालयमा झुन्डिएको अवस्थामा कैदीको शव भेटिएको हो ।
मृतक सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) भएको प्रहरीको पुष्टि छ । उनलाई सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २०८१ कात्तिक ७ गते जन्मकैदको फैसला गर्दै २० वर्ष कैद सजाय तोकेको थियो ।
भट्टराईले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम्फालेकी थिइन् । सो क्रममा उनी र एक सन्तान बाँच्न सफल भए पनि अर्को सन्तानको मृत्यु भएपछि उनीमाथि मुद्दा दायर भएको थियो ।
२०७८ साल माघ ५ गतेदेखि भट्टराई मोरङ कारागारमा थिइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान भइरहेको जनाएको छ ।






