Categories समाचार

नक्कली परीक्षार्थी प्रकरण : पाँच दिन म्यादसहित छोरामाथि अनुसन्धान, कांग्रेस नेता साहबुद्दिन फरार

Advertisement

वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा आफ्नै बुवाको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका मोहम्मद अफताबलाई जिल्ला अदालत पर्साले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउने अनुमति दिएको छ।

अफताबविरुद्ध शिक्षा ऐन, २०२८ को दफा १७(क) बमोजिम मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए। सो दफाअनुसार अरुको नाममा परीक्षा दिन वा दिन लगाउन नपाइने प्रावधान रहेको छ। उक्त कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना, छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

Advertisement

मानविकी संकाय अन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर (MA Political Science) तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबलाई परीक्षाकेन्द्रमै पक्राउ गरिएको हो। उनले आफ्नै बुबा, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मोहम्मद साहबुद्दिनको नाम, प्रवेशपत्र र सिम्बोल नम्बर १५२७०२३ प्रयोग गरी परीक्षा दिइरहेका थिए। प्रवेशपत्रमा साहबुद्दिनकै नाम, विवरण र हस्ताक्षर भए पनि फोटो भने अफताबको टाँसिएको थियो। सोही अवस्थामा परीक्षामा संलग्न रहँदा प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement

घटना सार्वजनिक भएपछि साहबुद्दिन हाल फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। शिक्षा ऐन बमोजिम अरुलाई आफ्नो तर्फबाट परीक्षा दिन लगाउने व्यक्तिमाथि समेत कानुनी कारबाही हुने भएकाले साहबुद्दिनमाथि समेत अनुसन्धान सुरु भएको प्रहरीले स्पष्ट पारेको छ।

यसैबीच, परीक्षामा नक्कली परीक्षार्थी संलग्न भएको पुष्टि भएपछि ठाकुरराम बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमावली, २०५० को दफा २७० बमोजिम कारबाही गरेको छ। सो दफाअनुसार दोषी परीक्षार्थीलाई चार वर्षसम्म कुनै पनि विश्वविद्यालयीय परीक्षामा सहभागी हुन नपाउने प्रावधान रहेको छ।

क्याम्पस प्रमुख मोहनप्रसाद यादवका अनुसार, साहबुद्दिनलाई सोही प्रावधानअनुसार चार वर्षका लागि विश्वविद्यालयका परीक्षा गतिविधिबाट निष्कासन गर्ने निर्णय आइतबार नै गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *