Categories समाचार

वीरगंज नगरपरिषद बैठकले सहादतप्राप्तहरुको सम्झनामा शोक प्रस्ताव पारित, क्षतिको विवरण संकलन प्रक्रिया सुरु

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागिबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्।

Advertisement

प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै संकलन भइरहेको उल्लेख गर्दै उनले पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने बताए।

Advertisement

यसैबीच नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ। सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ।

बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ-आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगरपरिषदले गरेको उनले जानकारी दिए।

गत सातादेखि वीरगंजमा जेनजी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो। यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो। आगलागिबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए।

प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ।

नगरपरिषदको बैठकले हालको असामान्य परिस्थितिमा वीरगंजलाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *