वीरगञ्ज । वीरगञ्जस्थित पब्लिक फिटनेस सेन्टर (PFC) मा शनिबार आयोजित डेडलिफ्ट प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा करिब ४० जना प्रतिस्पर्धीहरूले आफ्नो तागत र क्षमताको प्रदर्शन गरेका थिए।
प्रतियोगिताको वरिष्ठ समूहमा अभिषेक सर्राफले प्रथम स्थान हासिल गर्दै विजेता बनेका छन्। द्वितीय स्थान चन्दन गुप्ता र तृतीय स्थान बरमा यादवले प्राप्त गरेका हुन्।
विजेताहरूलाई नगद पुरस्कारसहित विभिन्न फिटनेस सामग्रीहरू प्रदान गरिएको थियो। प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ७,५००, रु. ५,००० र रु. ३,५०० सहित प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। साथै, सबै सहभागीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा आशिफ अन्सारी, खालिद हुसेन, अकलेस पटेल, बिशाल यादव, सुमित पटेल र अरुण साह रहेका थिए।
कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष करण यादवले गरेका थिए भने सञ्चालन शिवनाथ यादवले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित प्रदेश सभा सदस्य रहबर अन्सारीले अनुशासन र मेहनतलाई सफलताको आधार बताउँदै खेलाडीहरूलाई निरन्तर प्रयास गर्न प्रेरित गरे।
त्यस अवसरमा नेपाल प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, भारतोलन संघकी कोषाध्यक्ष सुनिता अग्रवाल, समाजसेवी करन पटेल, सुबाश गुप्ता, स्ववियु सदस्य माला साह र ग्यालेक्सी फिटनेस सेन्टरका प्रशिक्षक सुमित महतो विशेष अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगिताले स्थानीय युवाबीच शारीरिक तन्दुरुस्ती र खेलकुदप्रतिको चासो बढाएको आयोजकहरूले बताएका छन्।




