वीरगंज । प्रकाश, आशा र सहानुभूतिको प्रतीक पर्व दीपावलीलाई यस वर्ष फरक ढङ्गले मनाउने उद्देश्यका साथ इम्प्रुभिङ्ग वीरगंज संस्थाले विशेष अभियान सञ्चालन गरेको छ।
संस्थाका सदस्यहरूले आज नारायणी अस्पताल, बिरगंजमा उपचाररत बिरामी र उनका परिवारबीच “दीपावली ह्याप्पिनेस प्याकेट” वितरण गरी पर्वको खुसी बाँडेका हुन्।
प्याकेटमा फलफूल, मिठाई, दियाबत्ती, माला र स–साना उपहारहरू राखिएका थिए, जसले बिरामीहरूको अनुहारमा मुस्कान ल्यायो र अस्पतालको वातावरणमा उमङ्ग थपेको एक सदस्यले बताए ।
संस्थाका प्रतिनिधिहरूका अनुसार, दीपावलीको वास्तविक अर्थ केवल घर–घरमा दियो बाल्नु होइन, समाजभरि प्रेम, माया र सकारात्मकताको प्रकाश फैलाउनु हो।
विगतदेखि नै रोटी बैंक, रक्तदान, सरसफाइ, र सामाजिक सचेतनामूलक कार्यक्रमहरूमार्फत सामुदायिक सेवामा सक्रिय रहेको यस संस्थाले यस पटकको अभियानमार्फत मानवताको उज्यालो फैलाएको छ।
संस्थापक समाजसेवी सरण गुप्ताले भने, “दीपावली केवल उत्सव होइन, आत्मीयता र सहानुभूतिको प्रतीक हो। हामीले अस्पतालका बिरामीहरूसँग त्यो उज्यालो बाँड्ने प्रयास गरेका छौं, ताकि उनीहरूले पनि त्यो खुशी महसुस गर्न सकून्।”




