वीरगञ्ज । नेपालीहरूको महान् पर्व छठको एक दिन बाँकी रहँदा वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सफाइका लागि तीव्र कदम चालेको छ ।
महानगरका मेयर राजेशमान सिंहले पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूलाई बोरिङमार्फत शुद्ध पानी नदीमा मिसाउन निर्देशन दिएका छन् ।
नदीको प्रदूषणले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वमाथि असर पर्ने जोखिम बढेपछि प्रमुख सिंहले उद्योगहरूलाई बोरिङ मार्फत पानी मिसाउन निर्देशन दिएका हुन् ।
मेयर सिंहको निर्देशनपछि महानगरका कर्मचारीहरू शनिवारदेखि फिल्डमा खटिएर उद्योगहरूले बोरिङ सञ्चालन गरेको अनुगमन गरिरहेका छन् । महानगरको वातावरण शाखाका प्रकाश ऐरीका अनुसार अधिकांश उद्योगहरूले बोरिङ सञ्चालन गरी नदीमा शुद्ध पानी मिसाउन थालेका छन् । यसले नदीको बहाव र सफाइमा केही सुधार हुने अपेक्षा गरिएको उनले बताए ।
सिर्सिया नदीको प्रदूषण पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूबाट निस्कने रसायनयुक्त फोहोर र वीरगञ्ज महानगरको कमजोर फोहोर व्यवस्थापनका कारण गम्भीर बनेको छ । नदीको पानी कालो र दुर्गन्धित हुँदा मानव प्रयोग, सिँचाइ र धार्मिक कार्यका लागि अयोग्य भएको छ ।
स्थानीय हीरा ठाकुरले उद्योगहरूले वीरगञ्जवासीको धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाए । उनले वीरगञ्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई प्रदूषणको मुख्य जिम्मेवार ठहर गर्दै ठोस कारबाहीको अभावप्रति असन्तुष्टि जनाए ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका पदाधिकारी प्रदीप सर्राफका अनुसार अघिल्ला वर्षहरूमा छठ नजिकिँदा उद्योगहरूले एक साता अघिदेखि फोहोर फाल्न बन्द गरे पनि यस वर्ष छठको दुई दिन बाँकी रहँदा पनि नदीको अवस्था उस्तै छ । सामाजिक अभियन्ता बिक्की सर्राफले सिर्सिया नदीमा पर्सा र बाराका डेढ दर्जनभन्दा बढी गाउँ र टोलका बासिन्दाले छठ मनाउने गरेको बताउँदै प्रदूषित पानीमा पूजा गर्नुपर्ने अवस्थालाई “अक्षम्य अपराध” भने ।
चार दशकदेखि सिर्सिया नदी अत्यधिक प्रदूषित बन्दै आएको छ । डेढ दशकअघिको अनुगमन समितिको प्रतिवेदनले ४६ उद्योग र महानगरको फोहोरलाई प्रदूषणको मुख्य स्रोत ठहर गरेको थियो ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जनकुमार सिंहले गत वर्ष चैते छठमा नदीको प्रदूषणका कारण दुई कृत्रिम पोखरी बनाएर पूजा व्यवस्था गर्नुपरेको स्मरण गरे । उनले प्रशासन र स्थानीय सरकारले उद्योगीमाथि कडा कारबाही गर्न नसकेको गुनासो गरे ।
नेपालको वीरगञ्ज, पर्सा, र बाराका साथै भारतको रक्सौल र आसपासका बासिन्दा समेत सिर्सिया नदीको प्रदूषणबाट प्रभावित छन् । नदीको पानीमा छठ मनाउनुपर्ने बाध्यताले धार्मिक र सांस्कृतिक महत्त्वमाथि गम्भीर असर परेको छ । महानगरले पटक–पटक अनुगमन र छलफल गरेको दाबी गरे पनि ठोस नतिजा नआएको स्थानीयको भनाइ छ ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले प्रदूषण गर्ने उद्योगमाथि कडा कारबाही र दीर्घकालीन सफाइ योजनाको माग गरेका छन् । साभार : यात्रा डेली






