वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाटको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।
आज बिहान करिब १०:०० बजे सो पोखरीमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ मुसहरवामा बस्ने कन्हाई साहका १२ वर्षीय छोरा शनि कुमार साह डुबेको जानकारी स्थानीय बासिन्दाबाट प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपालले उद्धार कार्य थालेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव यादवको कमाण्डमा विपद् उद्धार टोली र सशस्त्र प्रहरी बेस बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा टोली खटिएको थियो।
सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनका अनुसार शव उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको र घटना सम्बन्धी थप अनुसन्धान नेपाल प्रहरीले अगाडि बढाइरहेको छ।




