वीरगञ्ज । जागृती महिला मिसन वीरगञ्जले वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। मिसनकी अध्यक्ष सुधा मिश्राको नेतृत्वमा सदस्यहरू कपडा बैंकको कार्यालयमा पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई कपडा हस्तान्तरण गरे।
कार्यक्रममा मिसनकी अध्यक्ष मिश्राले वीरगञ्ज कपडा बैंकले विगत केही वर्षदेखि दिनदुःखी, असहाय तथा आगलागी र बाढीपीडितहरूको घरदैलोमै पुगेर निस्वार्थ सेवा गर्दै आएकोप्रति खुशी व्यक्त गरिन्। उनले आउँदो जाडोको मौसमलाई ध्यानमा राखी न्यानो कपडाको व्यवस्था गर्दै निरन्तर साथ–सहयोग रहने प्रतिबद्धता जनाइन्।
त्यसैगरी, बैंकका अध्यक्ष लालबाबु सिंहले जागृती महिला मिसनले महिलाको हित, सशक्तीकरण र समाजसेवामा सक्रिय भई असहायहरूको सेवामा हातेमालो गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे। उनले कपडा बैंकमार्फत विपन्न वर्गका लागि गरिएको यो सहयोगप्रति हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहनेमा विश्वास व्यक्त गरे।
सो अवसरमा बैंकका सचिव कन्हैया पटेल, कार्यालय सहयोगी शोभा देवीलगायतको सहभागिता रहेको थियो।




