वीरगंज । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। संविधानको धारा १६८(४) अनुसार बस्ने बैठकमा उनी विश्वासको मतका लागि उपस्थित हुनेछन्।
पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको समर्थनमा असोज २९ गते सोनल मुख्यमन्त्री बनेका थिए। हाल सोनललाई लोसपा, जसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ।
यी सात दलको समर्थनसँगै उनको पक्षमा ५७ मत पुगेको छ। १०४ सदस्यीय सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक छ। नेपाली कांग्रेस र एमाले भने विपक्षमा छन्।
यसबीच जनमतका दुई सदस्य नयाँ दल जनस्वराज पार्टीतर्फ लागेका छन् भने जसपाका एक सदस्य निलम्बित भएकाले मतदानमा सहभागी हुन पाउने छैनन्।




