वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
आज सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वास्थित खेती इलाकामा उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
टोलीले बारा जिल्ला, बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवानलाई अवैध रूपमा भारतबाट टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा रोकजाँच गर्दा विभिन्न किसिमका औषधि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद औषधिको मूल्य करिब ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबर रहेको बताइएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति र बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनका अनुसार सशस्त्र प्रहरी बलले सिमानाका क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न लगातार निगरानी र गस्ती कार्य तीव्र पारेको छ।




