वीरगंज । जगरनाथपुर गाउँपालिका–२ पाणेपुरस्थित श्रीनेरा प्राविधिक विद्यालयको प्राङ्गणमा आज सामाजिक संस्था दाइजो तथा सामाजिक कुरितिविरुद्ध जागरण मंचको आयोजनामा र केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरको नेतृत्व संस्थाका अध्यक्ष वृजेश्वर प्रसाद चौघरीले गरेका थिए।
शिविरमा महिला पुरुष गरी कुल ३ सय १७ जना लाभान्वित भएका छन्। तीमध्ये १ सय ७ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन्। आवश्यकता अनुसार ९४ जनालाई निशुल्क औषधि (ड्रप) उपलब्ध गराइएको थियो।
मोतियाबिन्दुका बिरामीहरुलाई आजदेखि लगातार तीन दिनसम्म प्रत्येक दिन ३५ जनाको समूहमा केडिया आँखा अस्पताल, परवानीपुर लैजाने र पूर्ण रूपमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको अध्यक्ष चौघरीले जानकारी दिए ।
शिविरबाट परवानीपुरसम्मको आवागमनका लागि सवारी साधनको व्यवस्था अध्यक्ष चौघरीले आफ्नै खर्चमा गरेको समेत जनाए ।
कार्यक्रममा समाजसेवी शहरुम राउत गदी, युवा नेता शिवजी साह कलवार, सोनु मिश्रा, घन्नजय यादव, स्थानीय पन्नालाल महतो कोइरी, नरेश यादव, डाक्टर रासदेव साहसहितका विभिन्न संस्थाका सदस्य र अन्य स्थानीयहरू उपस्थित थिए।




