Categories समाचार

‘विनाश काले विपरीत बुद्धि’ : मधेशको रातारात शपथ प्रकरणमा मेयर सिंहको तीखो प्रहार

Advertisement

वीरगंज । मधेश प्रदेशमा रातारात भएको राजनीतिक घटनाक्रमले तरंग ल्याएको छ। नेकपा (एमाले)का नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबारकै मितिमा बर्दिबासको पानस होटलमै मुख्यमन्त्रीको शपथ खुवाएपछि, यस विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कडा प्रतिक्रिया दिएका छन्।

मेयर सिंहले सामाजिक सञ्जालमार्फत भनेका छन् —

Advertisement

थुइक्क नेता ज्युहरू, यत्रो घटनाक्रम हुँदा पनि ‘घैटोमा घाम नलागेको’ देख्दा अच्चम लाग्छ। ‘विनाश काले विपरीत बुद्धि’

Advertisement

मधेश प्रदेशमा भएको यो रातारातको राजनीतिक निर्णयप्रति जनमानसमा गहिरो प्रश्न उठाएको छ।

पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार विश्वासको मत लिने क्रममा नै राजीनामा दिएका थिए। त्यसको केही घण्टामै प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दल एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् र होटलमै शपथ खुवाइन्।

तर, घटनाक्रमलाई झनै रोचक बनाउने कुरा के भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं उपचारका लागि प्रस्थान गरेकी थिइन्, र मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको शुभकामना दिंदै बिदाइ गरेका थिए।
त्यसपछि सोनलले पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, “प्रदेश प्रमुख स्वस्थ भएपछि मात्रै राजनीतिक प्रक्रिया अघि बढ्नेछ।”

तर, त्यसकै केही घण्टामा भण्डारीले काठमाडौं पुग्नु अघि नै नयाँ मुख्यमन्त्री नियुक्त गरेको पत्र र शपथको भिडियो सार्वजनिक भयो।

उनको टिप्पणीपछि सामाजिक सञ्जालमा कतिपयले मेयर सिंहको भनाइलाई “राजनीतिक अस्वस्थतामाथिको कटु तर यथार्थ प्रतिक्रिया” भनेका छन् भने कतिपयले यो घटनालाई “संविधानकै उपहास”का रूपमा लिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रदेश प्रमुखले होटलमै गरेको शपथ र त्यसबारे आएका टिप्पणीहरूले मधेश प्रदेशको शासन, संरचना र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *