वीरगंज । प्रसौनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण कार्य आइतवारदेखि सुरु गरेको छ।
आज (आइतबार ) आयोजना गरिएको कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवाल र उपाध्यक्ष किरण देवीले एन.एल. ९७१ तथा विजय जातका गहुँ बीउ कृषकहरूलाई वितरण गरे। कार्यक्रममा कृषि शाखा प्रमुख सुनिल महतो र लेखा प्रमुख प्रेमबाबु प्रसादको उपस्थिति रहेको थियो।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत संघीय सशर्त बजेटमार्फत सञ्चालित ‘खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम’ अनुसार आवेदन दिएका कृषकहरूलाई ५०% अनुदानदरमा गहुँ बीउ उपलब्ध गराइरहेको जनाएको छ।
यसै क्रममा गाउँपालिकाको कृषि शाखाले कार्तिक ३० गते आइतवारदेखि मङ्सिर ३ गते बुधवारसम्म कार्यालय समयभित्र बीउ वितरण गर्ने व्यवस्था मिलाएको छ। आवेदन दिएका कृषकहरूलाई तोकिएको समयमा कृषि शाखामा उपस्थित भई बीउ बुझ्न कार्यालयले आग्रह गरेको छ।
तपसिलअनुसार विजय र एन.एल. ९७१ जातका गहुँ बीउको प्रति बोरा (४० के.जी.) खुद्रा मूल्य रु. २९६० पर्नेमा कृषकले ५०% अनुदानपछि रु. १४८० मात्र तिर्नुपर्ने व्यवस्था मिलाइएको छ। बीउ प्राप्त गर्न किसानले नागरिकताको प्रतिलिपि वा किसान परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।






