वीरगंज । उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मनस्थितिका व्यक्तिहरू, वृद्ध–वृद्धा तथा बालबालिकाका लागि आवश्यक दैनिक उपभोग्य सामानहरू हस्तान्तरण गरेको छ।
आश्रममा बसोबास गर्दै आएका १८ जना आश्रितहरूका लागि चामल, दाल, नून, खानेतेल, बिस्कुट, मसला, साबुन, सर्फ, डायपर, चना, सोयाबिन, अचार, बेसार, खुर्सानीलगायतका खाद्यान्न तथा जिन्सी सामग्रीहरू उपकार सेवा नेपालले उपलब्ध गराएको हो।
आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक कार्यक्रममार्फत संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले सामग्रीहरू हस्तान्तरण गरेका छन्।
उपकार सेवा नेपालले आश्रमका आश्रितहरूका लागि आवश्यक खाद्यान्न तथा अन्य जिन्सी सामग्री प्रत्येक महिनामा नियमित रूपमा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।






