वीरगंज । बारा जिल्लाको सिमरामा हिजो जेनजी समूहद्वारा आयोजित शान्तिपूर्ण कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरू प्रवेश गरी अपमानजनक व्यवहार गर्दै कुटपिट गरेको घटनाप्रति जेनजी पक्षले कडा आपत्ति जनाएको छ।
जेनजीका अगुवा सुधन गुरुङले उक्त हमला सरकारको उदासीनता र गृहमन्त्रीको लाचारीपनको परिणाम भएको आरोप लगाए। उनले गृहमन्त्रीले “आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत, तथा जेनजी युवाहरूको बलिदानबाट पदमा पुगेको तथ्य बिर्सिएको” भन्दै प्रश्न उठाए।
गुरुङले प्रहरी प्रशासन निष्क्रिय बसिरहेको र उल्टै देशप्रेमी युवामाथि दमन गर्ने प्रवृत्ति बढेको दाबी गर्दै भने, “यदि गृहमन्त्रीले राजीनामा नदिए, भ्रष्टाचारी र हत्यारालाई नियन्त्रण गर्न सकेनन्, र युवामाथि दमन जारी राखे भने ‘मलाई पनि पक्राउ गर’ भन्ने राष्ट्रिय अभियान सुरु गर्नेछौं।”
उनले बारामा देखिएको घटना सरकारले बेवास्ता गरे ठूलो प्रतिरोध उठ्न सक्ने चेतावनी पनि दिए। “हत्याराहरू खुला चुनौती दिएर हिँड्दा सरकार मौन बसेको छ। हाम्रो मौनतालाई कमजोरी नठानियोस्। आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्र हो,” गुरुङले भने।
जेनजी समूहले आफ्ना दाजुभाइमाथि भएको आक्रमणको कडा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।






