वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण गर्ने भएको छ।
शाखाले सार्वजनिक गरेको सूचना अनुसार महानगरका वडा नं. १ देखि ३२ सम्मका सबै किसानले यस कार्यक्रमअन्तर्गत बीउ प्राप्त गर्न सक्नेछन्।
बीउ वितरण कार्यक्रम मंसिर ७ गते (२०८२/०८/०७) बाट सुरु हुने जानकारी शाखाले दिएको छ। यसका लागि किसानहरूले आवश्यक कागजातसहित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्नेछ।
आवेदनका लागि आवश्यक कागजातमा लालपुर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपि माग गरिएको छ ।
आर्थिक विकास महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारका अनुसार गहुँ उत्पादनमा वृद्धि, किसानलाई प्रोत्साहन तथा सहुलियत उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उनले अनुदानको पारदर्शी र व्यवस्थित वितरणका लागि शाखाले आवश्यक तयारी पूरा गरिसकेको बताएका छन्।
महानगरले किसानमैत्री कार्यक्रममार्फत कृषकलाई उत्पादकत्व वृद्धि तथा आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने लक्ष्य लिएको छ।







