Categories समाचार

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले दिए श्रीमती, साली र भान्जीलाई जागिर, तत्काल बर्खास्त गर्न जेन-जी फ्रन्टको माग

Advertisement

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठ, साली कमला श्रेष्ठ, भान्जी पुनम श्रेष्ठ र अर्की नातेदार रविना श्रेष्ठलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमै उच्च पदमा नियुक्ति दिलाएको खुलासा भएपछि नेपाल जेन–जी फ्रन्टले गम्भीर आपत्ति जनाएको छ ।

फ्रन्टले नियुक्ति कार्यलाई सुशासन, पारदर्शिता र जेन–जी विद्रोहको मर्ममाथिको ठाडो प्रहार भएको ठहर गर्दै कडा शब्दमा भर्त्सना गरेको छ ।

Advertisement

श्रेष्ठले श्रीमती सङ्गीतालाई राजपत्राङ्कित प्रथम श्रेणी (सह–सचिव सरह) को स्वकीय सहसचिव पदमा, साली कमलालाई पनि सोही स्तरको स्वकीय सहसचिव पदमा तथा भान्जी पुनम र रविनालाई नायब सुब्बा सरहको प्रशासन सहायक पदमा नियुक्त गराएका छन् । नियुक्ति ‘जेन–जी’ आन्दोलनमा शहीद तथा घाइते परिवारका लागि छुट्ट्याइएको कोटामा भएको दाबीसमेत गरिएको छ ।

Advertisement

सर्वोच्च अदालतमा करार सेवामा कार्यरत श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिव सरहको सेवा–सुविधासहित प्रमुख स्वकीय सचिव बनाएकी थिइन् ।

नेपाल जेन–जी फ्रन्टले सोमबार जारी गरेको विज्ञप्तिमा राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो अत्यन्त संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहिता र पारदर्शिताविरुद्धको प्रत्यक्ष प्रहार भएको उल्लेख गरेको छ । फ्रन्टका अनुसार, प्रकरणले राज्य संयन्त्रभित्र जरा गाडेर बसेको विकृत अभ्यास फेरि एक पटक उजागर भएको र यस्तो कार्य जेन–जी विद्रोहको मर्म र म्यान्डेटको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ ।

फ्रन्टकी संयोजक तथा जेन–जी युवा नेता रक्षा बमले यो घटनालाई “नैतिक भ्रष्टाचार” को संज्ञा दिइन् । उनले भनिन्, “जेन–जी विद्रोह रकमको भ्रष्टाचारसँगै नातावाद, कृपावाद र नैतिक भ्रष्टाचारविरुद्ध पनि थियो । सुशासन र पारदर्शिताको नारामा बनेको नागरिक सरकारमै यस्तो हुनु भनेको परिवर्तनका लागि बगेको रगतको अपमान हो ।”

फ्रन्टले सरकारसँग तत्काल प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पदबाट बर्खास्त गर्नु, उनले अनैतिक रूपमा नियुक्ति दिलाएका सबै नातेदारको नियुक्ति खारेज गर्न, नातावादमा आधारित यस्तो नियुक्ति कसरी सम्भव भयो भन्ने स्पष्ट स्पष्टीकरणसहित सत्य–तथ्य सार्वजनिक गर्न, अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूको स्वकीय सचिवालयमा हुने सबै नियुक्ति पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गर्न तथा स्वकीय सचिवालयमा को–को कुन पदमा कार्यरत छन् भन्ने सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा राख्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

जेन–जी फ्रन्टले यस्ता विकृतिविरुद्ध आफू निरन्तर सतर्क, मुखर र सङ्गठित रूपमा उभिने चेतावनी दिएको छ । यस घटनाबारे प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *