वीरगञ्ज । नेपाल कावेरी एकेडेमीको आयोजनामा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न भएको छ ।
शनिवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रि–प्राइमरी तहका विद्यार्थीहरूले नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरी भाषाका गीतमा नृत्य, कविता वाचन, छोटा नाटक, योग प्रदर्शन, फेन्सी ड्रेस, ग्रुप कोरस, हास्य कविता, र्याम्प वाक तथा “मेरो नेपाल” र “स्वच्छता” जस्ता शिक्षाप्रद विषयमा आधारित प्रस्तुतिहरू दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुभ्रता दासले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गरिन् । उनले सानो उमेरदेखि नै विद्यार्थीहरूमा यस्ता प्रतिभाको विकासले उनीहरूको दीर्घकालीन विकासमा ठूलो सहयोग पुर्याउने बताइन ।
विद्यालयकी निर्देशक आयुषी तुलस्यानले पनि विद्यार्थीहरूले देखाएको प्रस्तुतिले आफूलाई आश्चर्यचकित बनाएको बताइन । “हाम्रा यी लिटल स्टारहरू हाम्रै परिवारका सदस्य हुन् । उनीहरूको हरेक मुस्कान र प्रस्तुतिमा हामीले वर्षभरि गरेको मिहिनेत सफल भएको महसुस गर्छौँ । आजको यो कार्यक्रम हाम्रा शिक्षक–शिक्षिकाहरूको समर्पण र अभिभावकहरूको विश्वासको उत्सव हो,” उनले भनिन् ।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने बालबालिकाहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागी सबै नानीहरूलाई उपहार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिलीप कुमार गुप्ताले जानकारी दिए ।
कार्यक्रममा रेणुका गिरी, सिद्धार्थ नेशनल स्कुल एन्ड कलेजकी निर्देशक सुषमा तिवारी र मध्य नेपाल प्रेसकी कविता खड्कालगायतको उपस्थिति रहेको थियो ।
नेपाल कावेरी एकेडेमी परिवारले कार्यक्रम सफल बनाउन साथ, सहयोग र शुभकामना दिने सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक–शिक्षिका तथा शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।






