वीरगञ्ज । डेसिमल पब्लिक कलेज, वीरगञ्जद्वारा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ आयोजित ‘फ्रेसर्स मिट एण्ड ग्रीट’ कार्यक्रम शनिबार क्लार्क्स रिसोर्ट, वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
कलेजका संस्थापक अध्यक्ष सन्नि दुबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने रक्तसञ्चार सेवा केन्द्र पर्साका प्रमुख सौरभ राज पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रम कक्षा–१२, ब्याच २०८२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजिअ भोला दाहालले शैक्षिक जीवन केवल किताबी ज्ञानमा सीमित नरही अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्नेमा जोड दिनुभयो। “विद्यार्थी जीवन भविष्य निर्माणको आधार हो, यस चरणमा प्राप्त शिक्षा र संस्कारले समाज र राष्ट्रका लागि सक्षम नागरिक उत्पादन गर्छ,” उहाँले भन्नुभयो।
सभापति तथा कलेजका संस्थापक अध्यक्ष सन्नि दुबेले डेसिमल पब्लिक कलेजले गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। “नयाँ विद्यार्थीहरूलाई सुरक्षित, प्रेरणादायी र प्रतिस्पर्धी शैक्षिक वातावरण प्रदान गर्नु हाम्रो दायित्व हो,” उहाँको भनाइ थियो।
विशिष्ट अतिथि सौरभ राज पाण्डेले शिक्षासँगै सामाजिक सेवाको महत्व औँल्याउँदै युवाहरूलाई मानवीय मूल्य र सेवाभावमा अग्रसर हुन आग्रह गर्नुभयो। “शिक्षित युवाको सक्रिय सहभागिताले मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ,” उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा शैक्षिक प्रेरणादायी भनाइ, मनोरञ्जनात्मक प्रस्तुति तथा आपसी परिचयात्मक गतिविधिहरू समावेश गरिएको थियो।






