वीरगञ्ज । दिनप्रतिदिन फोहर र दुर्गन्धित बन्दै गएको श्रिसिया नदीको संरक्षणका लागि वीरगञ्जका विभिन्न सामाजिक संस्थामा आबद्ध जेन–जी युवाहरू सक्रिय भएका छन्।
पटक–पटक अभियन्ता तथा सामाजिक संस्थाहरूको पहल हुँदाहुँदै पनि नदी सफा हुन नसकेपछि युवाहरूले प्रत्यक्ष रूपमा नदी सफा गर्ने अभियान सुरु गरेका हुन्।
शनिबार किशन सर्राफको अगुवाइमा युवाहरूले रानिघाटस्थित श्रिसिया नदी किनार सफा गरेका छन्। सो क्रममा नदीमा थुप्रिएको फोहर हटाउनुका साथै अत्यन्त दुर्गन्धित र प्रदूषित नदीको पानी संकलन गरी जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकामा बुझाइएको छ। यस कदममार्फत युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन्।
अभियानका संयोजक सर्राफका अनुसार श्रिसिया नदीको अवस्था दिनानुदिन भयावह बन्दै गएको छ तर सरोकारवाला निकाय मौन देखिएका छन्। उनले चरणबद्ध कार्यक्रमहरू आयोजना गर्दै जेन–जी युवाहरूले अब श्रिसिया नदी सफाइ र संरक्षणका लागि निरन्तर आवाज उठाउने स्पष्ट पारे।
उक्त अभियानमा राजन श्रीवास्तव, विक्की सर्राफ, राज शाह, आयुष गुप्ता, ओशन गुप्ता, पवन यादव, विक्की गुप्ता, ऋषु वर्मा, शिवराज पटेल, अजय महतो, सुरेश बिरादी, आकाश दास, एलेक्स शाह तथा सुजीतलगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियन्ताहरूले श्रिसिया नदीको प्रदूषण नियन्त्रणका लागि तत्काल ठोस योजना, अनुगमन र दीर्घकालीन समाधान आवश्यक रहेको भन्दै सरकार र स्थानीय तहसँग जिम्मेवार भूमिका निर्वाह गर्न माग गरेका छन्।







