वीरगंज । वीरगंज महानगरपालिका–२४ रामगढवा स्थित सक्षम युवा क्लबको आयोजनामा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्लबको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय विकास, युवाको भूमिका र सामाजिक सहकार्यका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै वडाअध्यक्ष विजय पटेल, अधिवक्ता सुरेन्द्र कुर्मी, वडा नं. २४ का वडाध्यक्ष प्रत्याशी रामानन्द पटेललगायत गाउँका अगुवा व्यक्तित्व, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले स्थानीय तहको विकासमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सक्षम युवा क्लबजस्ता संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले महानगरपालिका युवामैत्री कार्यक्रम तथा योजनामार्फत स्थानीय पहललाई सहयोग गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यस अवसरमा वक्ताहरूले शिक्षा, रोजगारी, खेलकुद, सामाजिक सचेतना तथा सामुदायिक विकासमा युवाहरूको भूमिका अझ सशक्त बनाइनुपर्नेमा जोड दिएका थिए। सहभागी युवाहरूले पनि आफ्ना सुझाव तथा जिज्ञासाहरू प्रस्तुत गर्दै स्थानीय समस्या समाधानमा सहकार्यको आवश्यकता औँल्याएका थिए।
सक्षम युवा क्लबले आगामी दिनमा यस्ता भेटघाट तथा संवाद कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक रूपान्तरण र युवाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।






