वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टीको पर्सा जिल्ला कमिटी गठन गरिएको छ । पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको उपस्थितिमा र राकिब हुसेनको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला कार्य समिति चयन गरेको हो।
भेलाले रियाज अहमदलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा विनोद पासवान र इमरान अली चयन भएका छन्। सचिवमा सबनम खातुन र सह–सचिवमा मोहम्मद हारुन र नोर्से आलम चयन भएका छन्। सल्लाहकार समितिमा राकिब हुसेन, डा. रकिफ र अब्दुल रौफलगायत रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी उपस्थित थिए। कार्यक्रममा मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्व गृह, सञ्चार र कानुन मन्त्री बिमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य सुरेश हजरा लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले सम्बोधन गर्दै संघीयता, समावेशिता र सामाजिक न्यायको वास्तविक कार्यान्वयन बिना देशले सही दिशा लिन नसक्ने बताएका छन्। उनले मधेस, मुस्लिम, दलित, पिछडावर्ग र सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्न पार्टी दृढताका साथ संघर्षरत रहेको उल्लेख गरे।
अध्यक्ष अन्सारीले भने, “देशमा संघीयता आए पनि अझै राज्य संरचनामा विभेद कायमै छ। अब संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको आवाजलाई सशक्त रूपमा उठाउनुपर्ने बेला आएको छ।” उनले पर्सा जिल्ला कमिटीले संगठन सुदृढीकरणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि बिमला अन्सारीले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलहरूले जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र महिलाको नेतृत्व तथा सहभागितालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र आगामी रणनीतिबारे धारणा राख्दै संगठन विस्तार र जनमुखी राजनीतिमा जोड दिनुपर्ने बताएका थिए।







