Categories समाचार

जेनजी आन्दोलनको क्रममा काठमाडौँ कारागारबाट फरार बाराका दुई कैदी वीरगञ्जमा पक्राउ

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार काठमाडौँबाट फरार भएका दुई जना कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले बारा जिल्ला विश्रामपुर गाउँपालिका–५ निवासी २५ वर्षीय प्रदेशी भन्ने सुदामा पासवानलाई पक्राउ गरेको हो। उनी केन्द्रिय कारागार कार्यालय काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद भुक्तान गरिरहेका थिए।

Advertisement

गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका पासवानलाई पुस ८ गते राति करिब ९ः५० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वा क्षेत्रबाट पक्राउ गरी वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

Advertisement

यसैगरी, बारा जिल्ला परवानीपुर गाउँपालिका–२ निवासी ३२ वर्षीय विवेकलाल साह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन इजलास हेटौडाको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रिय कारागार कार्यालय सुन्धारा (भद्रगोल) काठमाडौँ चलान भएका साह पनि भदौ २४ गते कारागारबाट फरार भएका थिए।

उनलाई पुस ८ गते दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता टोलबाट पक्राउ गरी वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

पक्राउ परेका दुवै कैदीलाई कानुनी प्रक्रिया अनुसार सम्बन्धित कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *